काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू कसैकोमा प्रधानमन्त्रीको लागि निवेदन दिन नजाने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अरू व्यक्तिहरू प्रधानमन्त्रीका लागि आवेदन हाल्दै हिँडेको आरोप लगाउँदै आफ्नो पार्टी त्यसो नगर्ने बताएका हुन्। उनले आफूबाहेक अरू कोही पनि प्रधानमन्त्री हुन योग्य नरहेको समेत बताए।
‘हामी कसैकहाँ निवेदन हाल्न जाँदैनौ। किनकि, हामीबाहेक अरू कुनै पार्टी र नेतानै त्यसको लायक छैन। कुनै नेताको सोचनै विकास र समृद्धि गर्ने छैन। कुनै नेताको भाषणमा पनि विकासका कुरा गरेका छैनन्।
त्यसैले हाम्रो विकल्प छैन।’ प्रतिक्रियावादी र तीनका एजेन्टले राजनीति बिगार्न खाेजेको प्रधानमन्त्रीले आरोप लगाए। राजनीति गलत दिशामा गए देशले उन्नती प्रगति गर्न नसकिँने बताउँदै उनले भने, 'राजनीति बिग्रिए, सबै विग्रन्छ, केही शक्तिले बिगार्न खाेजेका थिए तर पनि हामीले विकासका गति अगाडि बढारह्यौं।' सरकारले तीन वर्षको अवधिमा पर्यटन, उद्योग, कृषि लगायतका क्षेत्रमा थुप्रै काम गरेको बताउँदै उनले भने,'उद्योगको क्षेत्रमा, व्यापारको क्षेत्रमा, वातावरणको क्षेत्रमा सरकारले यति धेरै काम गरेको छ कि एक छिनमा भन्नै सकिँदैन।' आफूहरू देश, जनता, सुशासन र देशकाे समृद्धिकाे लागि काम गरिरहेको बताए।
समृद्ध नेपाल र सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा अबकाे केही वर्षमै पूरा गर्ने बताए। नक्कली लाेकतन्त्रवादीहरू हाउभाउसँग भाषण गरिरहेकाे पनि उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई 'नक्कली लोकतन्त्रवादी'को संज्ञा दिएका छन्।
अबको डेढ–दुई वर्षमा लोकतन्त्र र संविधानमा कुनै आँच नआउने भन्दै प्रधानमन्त्री ओलीले भने,‘डेढ–दुई वर्षपछि चुनावमा जाँदा के लोकतन्त्र समाप्त हुन्छ ? संविधान च्यातिन्छ ?’ उनले नक्कली लोकतन्त्रवादीहरु, नक्कली जनवादीहरु हाउभाउसँग भाषण गर्छन्, लोकतन्त्र खत्तम पार्यो, चुनाव घोषणा गर्यो, जनताका बीचमा जाने कुरा गर्यो, ताजा जनादेश चाहियो भन्यो लोकतन्त्र, खत्तम पार्यो भन्छन् भन्दै व्यङ्ग्य गरेका छन्।