काठमाडौं । गएको असारमा आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूत मुख्य भूमिकामा रहेको फिल्म ‘दिल बेचारा’ युट्युबमा सार्वजनिक भएको छ।
अपलोड भएको ३ दिनमा नै यो फिल्म ६ लाख ३० हजारभन्दा बढीले हेरिसकेका छन् भने युट्युब ट्रेन्डिङको ४५ नम्बरमा छ।
जोन ग्रिनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ पढेका र यसमा आधारित हलिउड फिल्म हेरेका दर्शकका लागि ‘दिल बेचारा’ धेरै नयाँ नलाग्न सक्छ।
यद्यपि, यी दर्शकका लागि पनि केही नयाँपन छ फिल्ममा। शशांक खेतान र सुप्रतिम सेनगुप्ताले नयाँ परिवेश र नयाँ कलाकारिताका साथ फिल्म प्रस्तुत गरेका छन्।
मूल उपन्यास र अंग्रेजी फिल्मलाई पनि आत्मसात् गर्दै कथा बुनिएको छ। प्रमुख भूमिकामा रहेका कलाकारमा आशन्न मृत्युका बीच हर्ष–विषाद, प्रेम–तनाव, चिन्ता–आशंका र जीवन जिउने आकांक्षा देखिन्छ।
भविष्यको धेरै चिन्ता नलिई वर्तमानमा खुसीपूर्ण जीवन बाँच्नुपर्छ भन्ने सन्देश फिल्मले दिन खोजेको देखिन्छ।
मुकेश छाबडा निर्देशित ‘दिल बेचारा’ झारखण्डको जमशेदपुरका किजी वासु र इम्यानुएल राजकुमार जुनियार अर्थात् मैनीको प्रेम कहानी हो।