काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका पदाधिकारीले सपथ ग्रहण गरेका छन् । एमाले दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोश्रो बैठकबाट गण्डकी प्रदेश पदाधिकारीमा नियुक्त पदाधिकारीले बुधबार सपथ ग्रहण गरेका हुन् ।
पोखरामा आयोजित एक कार्यक्रमकाबीच प्रदेश कमिटी अध्यक्ष नवराज शर्मालाई नेकपा एमालेकी सचिव एवम् गण्डकी इञ्चार्ज पद्मा अर्यालले सपथ गराएकी थिइन् । त्यसपछि शर्माले कमिटीका उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मी आचार्य र मञ्जु अधिकारीलाई सपथ गराएका छन् ।
नेकपा एमालेको गत आइतबार बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले शर्मालाई पार्टीको गण्डकी प्रदेश कमिटीको अध्यक्ष तोकेको थियो । संविधानसभा सदस्य समेत रहेका शर्मा यसअघि गण्डकी प्रदेश कमिटीका सदस्य थिए । उनले पार्टीमा अनेरास्ववियू म्याग्दीको पूर्व जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष रहेका थिए ।