काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा पास गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।
पहिले सत्तागठबन्धनको एकीकृत धारणा कुर्ने र त्यसपछि एमालेले आफ्नो निर्णय लिने उनको भनाइ छ । तथापि, एमसीसीलाई यथास्थितिमै पास गरेर जान हुन्न भन्ने आफूहरुको धारणा रहेको उनले बताए । ‘यथास्थितिमा एमसीसी पास गरेर जाने पक्षमा हामी छैनौं’ एमाले प्रमुख सचेतक भट्टराईले अनलाइनखबरसंग भने ।
एमसीसीलाई पास गर्ने वा फेल गर्ने वा संशोधन गरेर मात्रै पास गर्ने भन्ने विषयमा सबैभन्दा पहिले सत्तागठबन्धनको एकीकृत धारणा तय हुनुपर्ने उनको आग्रह छ । ‘सत्तागठबन्धनको एकीकृत धारणा बनोस् पहिले । उहाँहरुको एकीकृत धारणा के हो ? भन्ने नै बुझिएको छैन ।
पास गर्ने जस्तो गठबन्धनभित्र देखियो भने हाम्रो के रह्यो र ?’ उनले भने । प्रमुख सचेतक भट्टराई थप्छन्, ‘उहाँहरुका १६५ सांसद छँदैछन् ।
उहाँहरुले १६५ लाई एकढिक्का राख्न सक्नुहुन्छ कि हुन्न हामी हेर्छौं ।
त्यसपछि एमालेले आफ्नो कदम चाल्छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँच दलीय गठबन्धनमा रहेका १६५ सांसदको समर्थन थियो ।
त्यहि १६५ सांसदलाई एमसीसीमा एकढिक्का राखेर सरकारले निर्णय लिन सक्छ कि सक्दैन भन्नेमा एमालेको चासो छ ।
यसैबीच एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाउँदै कतै यो होहल्लाकै बीचमा एमसीसी अनुमोदन गर्ने खेल त होइन ? भनेर आशंका गरेका छन् ।