काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिकताको प्रश्न उठाएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक भनेपछि प्रधानमन्त्रीले यसको नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन भनेर प्रश्न गरे ।
उनले भने– ‘सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ कि पर्दैन ? न्यायपालिकाले सरकारको निर्णयलाई खारेज गरिसकेपछि विधिको शासन मान्छौ, संविधानको पालना गर्छौ भन्ने सरकारले नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ?
यो सरकार बनेदेखि नै संविधानमाथि प्रहार गर्दै आएको थियो । लोकतान्त्रिक व्यवस्थामा संसदबाटै सरकार बन्छ, सरकारले नै संसद, संविधानको रक्षा गर्नुपर्नेमा सरकार बनेकै दिनदेखि बिचार अभिव्यक्तिको स्वतन्त्रतालाई यो सरकारले प्रतिबन्ध लगाउने काम सुरु गर्यो ।’
उनले माइतीघर मण्डला, रत्नपार्कमा बोल्न समेत प्रतिबन्ध लगाएको र त्यसको लागि सर्वोच्चमा मुद्दा हालेर स्वतन्त्रता फिर्ता ल्याएको बताए ।
उनले सरकारका मन्त्रीलाई संविधान कतिको पालना गरेको छ छातीमा हात राखेर मूल्याङ्कन गर्न आग्रह गरे । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक गुठी विधेयक, फोन ट्यापिङ गर्ने सम्मको विधेयक ल्याएर नागरिक हकअधिकार छिन्ने काम गरेको बताए । उनले जस्तोसुकै तानाशाही मुलुकमा पनि फोन ट्यापिङ गर्ने, गोपनियता हनन्को अधिकार नहुने उल्लेख गरे ।