Logout

चर्चामा

मुस्लिम समुदायमा पनि केपी ओलीको बढ्दो क्रेज

888 Shares

वीरगन्ज । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु लिएर विहीवार पर्साको जगरनाथपुर पुगे । ओली जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालाई एमाले प्रवेश गराउने कार्यक्रमका लागिमात्र गएका होइनन्,उनले त्यहाँ स्थानीय माओवादी र नेपाली कांग्रेसका साथै मधेशवादी दलका नेता कार्यकर्तालाई पनि एमालेमा प्रवेश गराए ।

ओलीलाई सुन्न हजारौं स्थानीय त्यहाँ जम्मा भएका थिए । गाउँपालिका अध्यक्ष जालिम मियाँकै अगुवाईमा ओलीलाई १५१ किलोग्रामको माला समेत लगाइएको थियो । जालिम एकजना गाउँपालिका अध्यक्षमात्र होइन,त्यस क्षेत्रका प्रभावशाली मुस्लिम नेता समेत भएकाले ओली आफैं पर्सा गएको बताइन्छ । त्यसो त जालिम भारतीय मिडियामा समेत बेला बेला चर्चामा आइरहने पात्र हुन् ।

पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष पौडेलसहित मधेशका एमाले नेताहरु रघुवीर महासेठ, प्रभु शाह, ज्वालाकुमारी साह, सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल, निर्मला देवकोटा लगायत सहभागी थिए । जालिम मिया नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष जितेका थिए । उनले पछिल्लो समय केपी ओलीले लिएको राजनीतिक लाइन मन पराएर एमालेमा प्रवेश गरेको बताएका छन् ।

नेपालमा कोभिड महामारी शुरु भएका बेला भारतको पश्चिम चम्पारण जिल्लाका जिल्ला अधिकारीले नै गोप्य पत्राचार गर्दै जालिम मियाले आफ्नो घरमा शंकास्पद कोरोना संक्रमित मुस्लिमहरुलाई आश्रय दिएको र भारतमा घुसपैठा गराउन खोजेको आरोप लगाएका थिए ।

उनलाई भारतविरोधी करार गर्दै भारतीय मिडियाले आफुमाथि लगाएको भ्रामक र निराधार आरोप झुठो रहेको पुष्टि गर्नका लागि उनले आफनो परिक्षणका लागि स्वास्थ्यकर्मीलाई घरमा बोलाएका थिए । भारतको टिभी ९, न्युज १८, जि न्युज, एबीपीलगायतका टेलिभिजन च्यानलले नेपालको पर्साको जगरनाथपुरको जानकीटोला निवासी जालिम मिया मुखिया नामका व्याक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराउन साजस गरिरहेको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर चैत २८ गते प्रशारण गरेका थिए।भारतीय पक्षले निराधार आरोप लगाएको भन्दै नेपालले आपत्ति जनाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार