1.2k
Shares
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहमा सक्रिय रहँदै आएका चितवनबाट प्रत्यक्ष निर्वाचित सांसद कृष्णभक्त पोखरेल संसदीय दलको बैठकमा सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको बैठकमा पोखरेल सहभागी भएका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने मध्येका एक पोखरेल यसअघि माधव नेपाल समूहमा खुलेर लागेका थिए । पोखरेल लगायत केही सांसद बिहीवार पनि संसदीय दलको बैठकमा सहभागी हुन खोजेका थिए ।
संसदीय दलको बैठकमा सहभागी हुन सानेपाबाट हिँडेका उनीहरूलाई बीच बाटोबाटै फर्काइएको थियो । शनिवारको बैठकमा सहभागी पोखरेलले ओलीलाई साथ दिने बताएका छन् । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी चितवनबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी एमाले चितवनको अध्यक्ष पनि थिए ।