काठमाडौं । नेकपा एमालेले पुस २३ गते गर्ने जिल्ला अधिवेशनको तयारी लगभग पूरा भएको जनाएको छ । भूगोलतर्फका ७७ वटा जिल्लाको अधिवेशन एकैपटक गर्ने तयारी गरेको एमालेले यसअघि वडा र पालिकाको अधिवेशन पनि एकैपटक गरेको थियो ।
अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले पुस २३ गते शुक्रबार केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल रूपमा उद्घाटन गरेर सुरु हुने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । यसबाहेक अधिवेशनमा केन्द्रीय नेताहरू आ–आफ्नो जिल्लामा पुगेर सम्बोधन गर्नेछन् । एमालेले देशभरका वडा र पालिकामा सहमतिमै नेतृत्व चयन गरेको थियो ।
एमालेको जिल्ला संरचना
नेकपा एमालेको विधानअनुसार जिल्ला कमिटीमा अध्यक्ष १, उपाध्यक्ष १ सचिव १ र उपसचिव २ गरी पाँच सदस्यीय कमिटी बन्नेछ । त्यस्तै सदस्यहरूको सङ्ख्या न्यूनतम आधारमा ७५ जना र त्यसपछि संघीय निर्वाचन क्षेत्र एक बराबर १५ जनाले थपिँदै जानेछन् ।
पाँच सदस्यीय पदाधिकारी छनोटका लागि वडादेखि नै प्रतिनिधि छनोट भएर आउँछन् । यसमा कति जना पार्टी सदस्य बराबर कति प्रतिनिधि छान्ने भन्ने निर्णयको अधिकार पनि सम्बन्धित जिल्ला कमिटीलाई नै दिएको नेताहरू बताउँछन् ।