काठमाण्डौं । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा साहित्यकार सपना आचार्यद्वारा लिखित मलिलो माटो उपन्यासको लोकार्पण गरिएको छ ।
उपन्यासको लोकार्पण नेपाली चलचित्र जगतका महानायक राजेश हमाल र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले संयुक्त रूपमा गरेका हुन् । नारीलाई प्रकृतिसँग र प्रकृतिलाई नारीसँग तुलना गरी नारी तथा प्रकृति सृष्टिका संवाहक हुन् तर नारी र प्रकृतिको उपभोग मात्रै गरिएको र त्यसको भित्री बेदना, पिडा एवम् कष्टको समाधान नभएको बरु नारी परिस्थितिको दास बन्न बाध्य भएको कुरालाई कृतिमा प्रस्तुत गरिएको छ।
अधिकारकर्मी मीनाक्षी न्यौपाने र इन्दिरा आचार्यले कृतिमाथि टिप्पणी गर्दै कृतिले नारी र प्रकृतिका विशेषता, विवशता अनि जीवनावस्थालाई उल्लेख गरेको बताए। यसैगरी डा. रवीन्द्र समीरले मलिलो माटो उपन्यास सर्जकको पहिलो कृति भए पनि यसभित्रको लेखन स्तरीय र पठनीय रहेको बताए ।
कार्यक्रममा तिलोत्तममा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले मलिलो माटो उपन्यासले समाजमा महिलाको अवस्थालाई प्रस्तुत गरेको भन्दै निरन्तरको मिहिनेत र अध्ययनशीलताले लेखकलाई सफल बनाउने बताएका छन् । नेपाली चलचित्र जगतका महानायक राजेश हमालले कृतिले प्रकृति र नारीको भूमिकासहित नारी र प्रकृतिले भोग्नुपरेका परिस्थितिजन्य अन्योलता र विवशतालाई प्रस्तुत गरेको बताउँदै कृति सफलताको शुभकामना दिए।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा स्वागत मन्तव्य, महानायक राजेश हमालको प्रमुख आतिथ्यता, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेको विशिष्ट आतिथ्यता, डा. रवीन्द्र समीर लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्दिरा अर्यालले गरेकी थिईन् ।