Logout

चर्चामा

युक्रेनमा रुसी आक्रमण : कस्तो छ पछिल्लो अवस्था?

1.5k Shares

युक्रेनमा रुसी आक्रमणले अवस्था थप गम्भीर बन्दै गएको छ । लगातार रुसी सैनिकले युक्रेनी सुरक्षाकर्मी तथा स्वयम्सेवक योद्धामाथि आक्रमण गरिरहेका छन् ।

आइतबार युक्रेनका लागि निकै कठिन दिनका रुपमा आएको त्यहाँका आर्मी अधिकारीले बताएका छन् । तर पनि युक्रेनी सेना तथा सहयोगीहरुले लगातार रुसी आक्रमणकारीलाई प्रमुख शहरमा रोक्न सफल भएका छन् ।

रुसी सैनिकले युक्रेनका प्रमुख शहरहरुलाई निशाना बनाएका छन् । तर उनीहरुले दोस्रो ठूलो शहर खार्किभ आफ्नो कब्जामा लिन भने सकेनन् । खार्किभमा आइतबार लगातार भिडन्त भएको हो । उत्तर पूर्वमा रहेको खार्किभ युक्रेनका लागि निकै महत्वपूर्ण शहर हो ।

तर युक्रेनमाथि रुसले लगभग सबै दिशाबाट आक्रमण गरिरहेको छ । रुसले दक्षिण तर्फबाट आफूहरुलाई सफलता प्राप्त हुँदै गएको दाबी गरेको छ । ब्ल्याक सी को दूई क्षेत्रमा रहेका तटीय शहर खेर्सन र बेर्डिएन्स्क आफ्नो कब्जामा आएको रुसले बताएको छ ।

युद्ध जारी रहँदा दुई देशबीच वार्ताको प्रयास पनि भरहेको छ । युक्रेनी राष्ट्रपति भोलोडिभिर जेलेन्स्कीले बेलारुससँगको सीमा क्षेत्रमा रुससँग वार्ताका लागि तयार भएको बताए पनि त्यसको समयसीमा भने तोकिएको छैन ।

यस्तै युक्रेन सरकारले आफूमाथि आक्रमण गरेर रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा मुद्दा दायर गरेको छ ।

उता पुटिनले आफ्नो देशका सैनिकलाई उच्च शतर्कतासहित परमाणु हतियार विशेष तयारी अवस्थामा राख्न आदेश दिएपछि युरोपियन युनियन र अमेरिका तथा उसका साझेदारहरुले गम्भीर निन्दा गरेका छन् ।

युक्रेनको राजधानी किएभ अहिले पनि कर्फ्यूमा छ र स्थानीय अधिकारीले किएभका बासिन्दालाई आश्रय स्थलबाट बाहिर ननिस्कन भनेको छ ।

यसैबीच आक्रमणलाई लिएर रुसमाथि लगाइएको प्रतिबन्धको असर रुसी मुद्रामा देखिएको छ । सोमबार रुसी मुद्रा रुबल अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा रुसी रुबलको मूल्य ३० प्रतिशतले गिरावट आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार