काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी(जसपा)को मागप्रति आफू सकारात्मक भएको बताएका छन् ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र सरकार र विभिन्न दलसँग वार्ता गर्न बनाइएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लासँग भेटवार्ता गरेका थिए ।
मंगलबारको भेटवार्तामा प्रधानमन्त्री ओलीले संसद्मा आफूलाई समर्थन गर्न अनुरोध गरेको नेता लक्ष्मणलाल कर्णले बताए । उनले भने, ‘आज प्रधानमन्त्रीले संसद्मा मलाई समर्थन गरिदिनुस् ।
तपाईंहरुका मागप्रति म सकारात्मक छु भन्नुभयो ।’ जसपा नेताहरुले भने मागप्रति सकारात्मक भए प्रधानमन्त्री ओलीले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने कुरा उठाएका थिए ।
नेता कर्णले भने, ‘हामीहरुले रेशम चौधरीको रिहाइलगायतका हाम्रा ५ बुँदे माग राख्यौँ । हामीले प्रधानमन्त्रीलाई तपाईंलाई समर्थन गर्नुपर्ने भए प्रक्रिया अगाडि बढाउनुहोस् भन्यौँ ।
भेटमा प्रधानमन्त्री ओलीसँग एमाले नेता सुवास नेम्बाङ, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार राजन भट्टराईलगायत उपस्थित थिए ।