काठमाडौँ । नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै संसद अवरोध गरेको छ ।
एमालेको अवरोधसँगै सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
विनियोजन विधेयकमाथिको छलफलका बाँकी प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख सापकोटाले जानकारी दिए ।
असम्बन्धित व्यक्तिले बजेटमा करको दररेट हेरफेर गरेकोमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको हो ।
घटनाको छानबिनका लागि एमालेले समिति गठनको माग समेत गरेको छ । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेपछि भट्टराईले बोल्ने समय दिएका थिए ।
त्यसपछि उनले शर्माको भूमिकाको आलोचना गर्दै उनको राजीनामा मागसहित छानबिन समिति बनाउन माग गरेका हुन् ।