काठमाडौँ । पर्यटनमन्त्री प्रेमबहादुर आले आफ्नो हर्कतले विवादित बन्ने गरेका छन् । यसै क्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई चुनौती दिएको भोलिपल्टै आले यु टर्न भएका छन् । उनले पार्टीका तीनजना मन्त्रीलाई घुमाइदिएका छन् ।
पार्टीको निर्णय नमान्दै सरकारबाट फिर्ता हुन नचाहेका आलेले अन्ततः नयाँ ट्वीस्ट लिएका छन् । बिहीबार १० सांसदहरुले पार्टीको निर्णय गलत भएको भन्दै आलोचना गरेका थिए । मन्त्री आले र अध्यक्ष नेपालबीच चर्काचर्की समेत परेको थियो । तर उनले आजै पत्र लेखी हस्ताक्षर फिर्ता लिएको घोषणा गरे ।
हस्ताक्षर फिर्ता लिनेमा आलेसहित कृष्णलाल महर्जन, धनबहादुर बुढा, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विना देवी बुढाथोकीले रहेका छन् । मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री र किसान श्रेष्ठका अलावा सांसद निरा जैरुले भने हस्ताक्षर फिर्ता गरेका छैनन् ।
आलेको यु टर्नले एकीकृत समाजवादीमा नयाँ तरंग पैदा गरेको छ । पार्टीले मन्त्रीबाट फिर्ता बोलाएका आलेसहितले सरकार छोड्ने संकेत गरेको छ ।