काठमाण्डौ - त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बङ्गलादेशसँग खेल्ने छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ५ बजेबाट बङ्गलादेशसँग हुने खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । प्रतियोगिताको फाइनलमा प्रवेश गर्नका लागि नेपालका लागि आजको खेल महत्त्वपूर्ण रहेको छ।
फाइनलमा प्रवेश गर्नका लागि नेपालले बङ्गलादेशसँग कम्तीमा बराबरी खेल्नुपर्नेछ । बङ्गलादेश भने यसअघि नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा प्रवेश गरिसकेको छ ।
बङ्गलादेशले किर्गिस्तानलाई एक शून्य गोल अन्तरले पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । बङ्गलादेशले दुई गोल अन्तरले जितेको अवस्थामा भने नेपालको फाइनल यात्रा समाप्त हुनेछ । नेपालले किर्गिस्तानसँगको खेलमा फितलो खेल प्रदर्शन गर्यो । किर्गिस्तानका कप्तान रातो कार्ड पाएर मैदानबाट बाहिरिए पनि नेपाली टोलीले त्यसको फाइदा उठाउन सकेन ।
पटकपटक गोलको प्रयास भए पनि लक्ष्यमा पुग्न सकेन । नेपाल र बङ्गलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गरेको छ । फाइनल खेल दशरथ रङ्गशालामा सोमवार हुने आयोजक एन्फाले जनाएको छ ।
अहिलेसम्म बङ्गलादेशले तीन अङ्क जोडेको छ भने नेपाल र किर्गिस्तानले एक, एक अङ्क प्राप्त गरेका छन् ।