Logout

चर्चामा

नेकपाकालीन पाँच नेतामाथि ओलीको आरोप : यिनीहरू देशद्रोही हुन्

1.6k Shares

काठमाडौँ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपाका पाँच नेताहरूलाई जनविरोधी र देशद्रोही भएको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतम जनविरोधी र देशद्रोही भएको ओलीले बताएका हुन् ।

उनीहरू नेकपाको ९ सदस्यीय सचिवालयमा सदस्य थिए । ओलीले आफूसँगै लामो समय राजनीति गरेका नेताहरूलाई सार्वजनिक मञ्चबाटै देशद्रोही भएको आरोप लगाएका हुन् । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्य स्मृति दिवसमा फरक कम्युनिस्ट पार्टीमा रहेका नेताहरूबाले उक्त आरोप लगाएका हुन् ।

सत्तारुढ गठबन्धनबाहिर रहेका वामपन्थी दलहरूलाई एकतामा आउन आग्रह गरेका ओलीले गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीहरूलाई आत्मआलोचना गरेर आए सोच्ने बताएका थिए । उनले सरकारमा रहेका पार्टीका र विगतमा नेकपा हुँदा सचिवालयमा रहेका नेताहरू मिलेर समाजवादी केन्द्र गठन गर्न भएको भेट उल्लेख गर्दै उनीहरूलाई 'देशद्रोही' भनेका हुन् ।

'गठबन्धन छोडेर आए, गठबन्धन बेठिक हो भनेर त्यसका उद्देश्यलाई परित्याग गरेर आए भने उनीहरूको बारेमा पनि विचार गर्न सकिएला । गठबन्धनमा बसेर दुष्ट उद्देश्य राखेर अस्ति त पाँच भाइ भेला भएछन्; जो नेकपामा हुँदा दुःख दिनेहरू थिए नि । पाँच भाइ पार्टी फुटाउनेहरू जम्मा भएछन् । अनि के पो बनाउने भने, समाजवादी केन्द्र बनाउने ।

समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे ? यी समाजवादी ?,' उनले भने, 'यी जनविरोधी, देशद्रोही, यी एमसीसी, यी एसपीपी, यिनीहरू समाजवादी ? यिनीहरू न समाजवादी हुन्, न केही हुन् ।' ओलीले आगामी निर्वाचनमा गठबन्धनलाई पराजित गर्नका लागि बाँकी दलहरू एकजुट हुनुपर्ने आह्वान गरेका छन् । 'यो अपवित्र, देशद्रोही गठबन्धन हो, अलोकतान्त्रिक, भ्रष्ट गठबन्धन हो यो' भन्दै ओलीले गठबन्धन बाहिर रहेका दलहरूलाई एमालेमा समाहित हुन आग्रह गरेका थिए ।

उनले फरक पार्टी वा चुनावी गठबन्धन बनाउन भन्दा पनि एमालेमा समाहित हुनुपर्ने भनेका थिए । 'अहिले गठबन्धनभन्दा बाहिर रहेका कम्युनिस्ट वामपन्थी पार्टीहरू, व्यक्ति, शक्तिहरू यो गठबन्धनजस्ता दुष्ट आशय बोकेका त छैनन् । दुष्ट आशय बोकेका नभएको हुनाले, दुष्ट आशय बोकेकासँग पार्टी एकीकरण गर्न सक्दैनौं, एकता गर्न सक्दैनौं । दुष्ट आशय नबोकेका साथीहरू, ए बाबा यहीँ ठूलै भाडामा पकाएको ढिँडो खाउँ । फेरि यत्रो (सानो) भाँडो के गुजुगुजुक बसाउनुपर्‍यो ?,' उनले भने, ' म आह्वान गर्छु, आग्रह गर्छु आउनुस् । सँगै मिलेर काम गरौं ।'

उनले अन्य पार्टीहरूलाई प्रतिक्रियावादीको संज्ञा दिँदै त्यसलाई चिर्नका लागि सबै एकजुट हुनुपर्ने आह्वान गरेका थिए । 'यत्रो चुनौती प्रतिक्रियावादीहरूले दिइराखेका छन् । यत्रो चुनौती खडा गरेका छन् । अनि के हामी चुनावी तालमेल गरेर उनीहरूको जस्तै चुनाव तालमेल मात्रै गर्ने हो र हामी ?,' उनले भने ।

नेकपा (माले)का महासचिवसँग सानैदेखिको संगती रहेको बताउँदै ओलीले पार्टी एकतामा आउन आग्रह गरेका थिए । आफूहरू कहीँ पनि देश, जनता, प्रगति, सुशासन, विकासविरुद्ध नहुनु नै एकताको आधार रहेको बताउँदै ओलीले अनावश्यक सानातिना कुरा ननिकाली पार्टी एक हुन आउन भनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार