पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ४ घण्टाभन्दा बढी नसुत्ने गरेको बताउनु भएको छ । उहाँले जति समय भन्यो त्यति नै समयका लागि सुत्ने बानी परेको पनि बताउनुभयो । अध्यक्ष ओलीले रातकै समयमा पढ्ने गरेको पनि सुनाउनुभयो । बिहान भने आफूसँग समय नै नहुने भन्दै उहाँले पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा गैर राजनीतिक विषयमा कुरा गर्नुभयो ।
आज दिउँसो पत्रकार अखण्ड भण्डारीसँग गफ गर्दै यस्तो बताउनु भएको हो । ‘अरु भेट्न आए त ठीकै छ, नेता नै आएपछि भेट्नै पर्यो । त्यसैले समय हुँदैन । म ५ मिनेट सुत्छु, ७ मिनेट सुत्छु, मलाई आर्लाम चाहिँदैन। कहिलेकाहिँ ४ घण्टाभन्दा बढी पनि सुत्छु तर त्यो सुतेर उठेको सुताइ हुन्छ’, उहाँले भन्नुभयो, ‘तपाईंहरुले मेरो बानी नसिक्नुहोला, राति अबेरसम्म नबस्नुस्, बरु बिहान सबेरै उठेर पढ्नुहोस् ।’
उहाँले लेख्नु भनेको ज्ञानलाई संगठित गर्नु भएको पनि बताउनुभयो । ज्ञानलाई संगठित बनाउन लेख्नैपर्ने उहाँले बताउनु भयो । पढ्नु भनेको ज्ञान प्राप्त गर्नु भएको उहाँको तर्क थियो ।