काठमाडौं । चलचित्र ‘काकाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारलाई प्रहरीले पक्राउ गरेको नाटक गरिएको विषयले राजनीतिक वृत्तमा समेत चर्चा पाएको छ। यसै विषयलाई लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अभिनेत्री गौरी मल्लप्रति आक्रोश व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै साम्पाङले गौरी मल्ल अब सम्मानित अभिनेत्री नरहेको टिप्पणी गरेका छन्। चलचित्रको प्रचारका नाममा गरिएको उक्त प्र्यांकलाई उनले आपराधिक कार्यको संज्ञा दिएका छन्।
यतिमै नरोकिने साम्पाङले आफूहरू सरकारमा पुगेको अवस्थामा गौरी मल्ललाई जेल हाल्ने र जेलभित्रै श्रमदानका क्रममा ढुंगा बोकाउने चेतावनीसमेत दिएका छन्।
उनले अंग्रेजीमा लेखेको स्टाटसमा चलचित्रको प्रचारका लागि गरिएको यस्तो गतिविधि स्वीकार्य नहुने आशय व्यक्त गरेका छन्।
शनिबार आयोजित ‘काकाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री गौरी मल्लसहित कलाकारहरूलाई प्रहरीले पक्राउ गरेको जस्तो नाटकीय दृश्य प्रस्तुत गरिएको थियो। उक्त दृश्य वास्तविक पक्राउ नभई चलचित्र प्रचारका लागि गरिएको प्र्यांक थियो।
चलचित्र प्रचारका लागि गरिएको ठट्टाले अहिले राजनीतिक अभिव्यक्ति र सामाजिक सञ्जालमा नयाँ बहस सिर्जना गरेको छ।